काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाल काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई पराजित गरेका हुन् ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका ३१, तार्केश्वर र नागर्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसंग सेमिफाइनलमा खेल्ने छ । अर्को क्वाटरफाइनल हुन बाँकी छ । गोकर्णेश्वर र काठमाडौं महानगरपालिका १६ बीचको क्वाटरफाइनल विजेताले सेमिफाइनलमा नागर्जुनको सामना गर्ने छ ।
पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार जित्ने छन् । महिलाको मात्र २ स्पर्धा समावेश प्रतियोगितामा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
फुटसल :
वृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा तार्केश्वर, वडा २३, वडा १६ र वडा ५ क्वाटरफाइनलमा पुगेका छन् । लैनचौर खेल मैदानमा तार्केश्वरले वडा १० लाई ३–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि सुनिल थापा र रविन चौलागाईंले समान १–१ गोल गरे । १ गोल आत्माघाती थियो । वडा २३ ले वडा १ लाई २–१ गोलले हरायो । वडा २३ का विशाल श्रेष्ठले गोल गरे । अर्को गोल आत्माघाती थियो । वडा १ का गौरव महर्जनले १ गोल फर्काए ।
वडा १६ ले वडा ११ लाई २–० गोलले पाखा लगायो । वडा १६ का सुविल श्रेष्ठ र आयुश कुँवरले गोल गरे । वडा ५ ले वडा २ लाई २–० गोलले पन्छायो । पुस्कर आचार्य र राकेश श्रेष्ठले गोल गरे । फुटसल, कराते, क्योकुसिन कराते, टेबलटेनिस र तेक्वान्दोसहित ५ खेल समावेश वृहत खेलकुदअन्तर्गत टेबलटेनिस सम्पन्न भइसकेको छ ।