काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेश्रोपटक जितेको छ । टीयूले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । काठमाडौंमा भएको पहिलो संस्करण तथा पोखरामा भएको दोश्रो संस्करणमा टीयू टिम च्याम्पियन बनेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा बाँकी १ स्वर्ण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले हात पार्यो । स्वर्ण बाहेक सुदूरपश्चिमाञ्चलले समान ६–६ रजत र कांस्य जित्यो । तेश्रो स्थानको काठमाडौं विश्वविद्यालयले ३ रजत र ८ कांस्य पदक हासिल गर्यो ।
काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजना तथा केआइईस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ३ रजत र ८ कांस्य, पूर्वाञ्चल विश्वविद्यालयले १ रजत र ६ कांस्य तथा पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले समान १–१ कांस्य प्राप्त गरे । ९ विश्वविद्यालय सहभागी प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय पदकविहीन बने ।
विजेतालाई प्रतियोगिता संयोजक समेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य मधुसुदन सुवेदी, काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा भएको दुईदिने प्रतियोगितामा २ सय ७९ खेलाडीले १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।